जनकपुरधाम । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली प्रहारको घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय समिति गठन गरेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वमा गठित समितिलाई घटनाको अनुसन्धान गरी शीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
शनिबार १५ शय्याको नवनिर्मित अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए। प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी घाइते भए भने १० वटा मोटरसाइकलमा आगजनी गरिएको थियो। घटनाका क्रममा अस्पतालको शिलालेखसमेत तोडफोड भएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटा सहभागी उद्घाटन कार्यक्रम रोक्न एमालेले यसअघि चेतावनी दिएको थियो। कार्यक्रम सञ्चालन भएपछि एमाले र रास्वपाका कार्यकर्ताबीच विवाद बढ्दै झडप भएको बताइएको छ।