इलाम । राम्रो आम्दानीको आशामा व्यावसायिक अकबरे खुर्सानी खेती विस्तार गरेका इलामका किसान अहिले रोगको प्रकोपले चिन्तित बनेका छन्। उत्पादन र बिक्रीको मुख्य समयमा बोट पहेँलिने, फल डढ्ने तथा कुहिने समस्या देखिएपछि किसानको वर्षभरिको मिहिनेत र लगानी जोखिममा परेको छ।
माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईले यस वर्ष दुई रोपनी क्षेत्रफलमा एक हजार ८०० बिरुवा रोपेका थिए। अघिल्लो वर्ष अकबरे खुर्सानी बिक्रीबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेका उनले यसपटक उत्पादन बढाउने लक्ष्य राखेका थिए। तर फल लाग्न थालेपछि बोट सुक्ने र खुर्सानीको फल कालो हुँदै कुहिने समस्या देखिएको उनले बताए।
अर्का किसान जीवन राईले पनि दुई हजार बोट लगाएको खुर्सानीमा रोग र कीराको प्रकोप देखिएपछि अधिकांश बोट नष्ट भएको गुनासो गरे। किसान कल्पना राईका अनुसार सङ्क्रमण सुरु भएको एक महिनामै बगानको खुर्सानी नष्ट भएपछि उनले अन्य बाली लगाउन थालेकी छन्।
किसानका अनुसार पात पहेँलिने, हाँगा सुक्ने, फलमा डढुवा लाग्ने र कुहिने समस्या तीव्र रूपमा फैलिएको छ। रोगको कारण र नियन्त्रणका उपायबारे प्राविधिक सहयोग नपाउँदा उनीहरू थप अन्योलमा छन्।
इलाममा उत्पादित अकबरे खुर्सानी स्थानीय बजारसँगै झापाको दमकसम्म बिक्री हुने गरेको छ। व्यापारीले बगानबाटै प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्ममा खरिद गर्दै आएका छन्।
परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा अकबरे खेतीप्रति किसानको आकर्षण बढिरहेका बेला रोगको प्रकोपले उनीहरूको आम्दानी र खेतीप्रतिको भरोसामै असर पुर्याएको छ।