झापा । धानखेतीबाट सीमित आम्दानी हुने खेतमा सयपत्री फूल फुलाएर झापाका तीन किसानले राम्रो कमाइको सम्भावना खोजेका छन्। बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक रूपमा १० कट्ठा जमिनमा फूलखेती गरेका हुन्।
‘कृषि कम्पास’ समूह बनाएर सुरु गरिएको खेतीमा उनीहरूले सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेका छन्। करिब पाँच लाख ५० हजार रुपैयाँ लगानी गरेका किसानले यसबाट १० हजार माला उत्पादन गरी १० देखि १२ लाख रुपैयाँसम्म कारोबार गर्ने लक्ष्य राखेका छन्।
समूहका सदस्य गुणराज न्यौपानेका अनुसार यही जमिनमा धानखेती गर्दा करिब ३० मन उत्पादन हुन्थ्यो, जसको बजार मूल्य झन्डै ५० हजार रुपैयाँ मात्रै पर्थ्यो। फूलखेतीबाट तुलनात्मक रूपमा बढी आम्दानी हुने सम्भावना देखेपछि उनीहरूले परम्परागत खेतीको विकल्प रोजेका हुन्। एउटा माला १०० देखि १५० रुपैयाँसम्ममा बिक्री हुने अपेक्षा गरिएको छ।
अहिले फूल टिप्ने, माला उन्ने र तयार माला कोल्डस्टोरमा राख्ने काम भइरहेको छ। यस वर्षको अनुभव र बजार सम्भावनाबाट उत्साहित किसानले आगामी वर्ष तीन बिघा क्षेत्रफलमा खेती विस्तार गर्ने तयारी गरेका छन्।
तर स्थानीय फूलले बजार पाउने विषयमा किसानको चिन्ता पनि छ। भारतबाट फूल आयात हुँदा स्वदेशी उत्पादनले उचित बजार नपाउने जोखिम रहेको उनीहरूको भनाइ छ। यसै विषयमा जिल्लाका फूल किसानले प्रमुख जिल्ला अधिकारीसमक्ष सातबुँदे मागपत्र बुझाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिन र अनधिकृत आयात नियन्त्रण गर्न आग्रह गरेका छन्।
किसानको अवस्था बुझ्न बुद्धशान्ति पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने भए बाहिरबाट हुने आयात नियन्त्रण गर्न सकिने बताएका छन्। झापामा फूलको माग उच्च रहेकाले पूर्वी पहाडी जिल्लाबाट समेत फूल ल्याएर बजारको आवश्यकता पूरा गर्न सकिने उनको भनाइ छ।
स्थानीय अभियानकर्मी मनिष दाहालका अनुसार बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा व्यावसायिक फूलखेती विस्तार हुँदै गएको छ। किसानको आकर्षण बढ्दै जाँदा झापालाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने सम्भावना पनि देखिएको छ।