काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टीले छनोटलाई व्यवस्थित बनाउन सातवटा उपसमिति गठन गर्दै महानगरपालिका र उपमहानगरपालिकाका वडा तहमा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।
महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा रहेको उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। पार्टीका प्रवक्ता जगदिश खरेलका अनुसार उम्मेदवार छनोट प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न जिम्मेवारीसहित उपसमितिहरू गठन गरिएको छ।
क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक र गुनासो समन्वयमा जनकसिंह धामीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिमा मिलन लिम्बू चयन भएका छन्।
रास्वपाले महानगर र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा प्रतिस्पर्धा गर्न इच्छुक र योग्य व्यक्तिलाई क्यान्डिडेट क्लबमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेको छ।