काठमाडौं । इनम सापकोटा प्रकरणलाई लिएर सरकारको सुशासन प्रतिबद्धतामाथि प्रश्न उठाउँदै जेन्जी अभियन्ता अजय सोडारीले प्रधानमन्त्री बालेन्द्र शाहबाटै छानबिन सुरु गर्न माग गरेका छन्।
सोडारीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, मन्त्रीहरू, प्रहरी नेतृत्व तथा घटनासँग सम्बन्धित सबै व्यक्तिको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्।
उनका अनुसार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले सापकोटाबाट दबाब सिर्जना भएको र न्यायिक प्रक्रियामा हस्तक्षेपको प्रयास गरिएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको विवरण सार्वजनिक भएको छ। न्यायाधीशले सापकोटासँग होटलमा भेट भएको स्वीकार गरेको विवरणसमेत बाहिर आएको सोडारीको भनाइ छ।
यस्तै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफ्नै निर्देशनमा सापकोटालाई पक्राउ गरिएको बताएको र यसै प्रकरणमा प्रहरी नेतृत्व परिवर्तनको चर्चा चलेको विषयले थप प्रश्न उठाएको उनले बताएका छन्।
सापकोटाले प्रधानमन्त्रीको विशेष दूतका रूपमा आफूलाई प्रस्तुत गरेको भनिएका संवाद, च्याट तथा विभिन्न व्यक्तिसँगका तस्बिर सार्वजनिक भएको विषयमा पनि स्वतन्त्र छानबिन हुनुपर्ने सोडारीको माग छ।
सार्वजनिक भएका आरोप र सामग्रीको सत्यता स्वतन्त्र रूपमा पुष्टि गरी कानुनी परीक्षण गर्नुपर्नेमा जोड दिँदै उनले निष्पक्ष, स्वतन्त्र र अधिकारसम्पन्न न्यायिक छानबिन आयोग वा संसदीय समिति गठन गर्न आग्रह गरेका छन्।
“हाम्रो माग स्पष्ट छ : इनम प्रकरणको छानबिन प्रधानमन्त्री बालेन्द्र शाहबाटै सुरु गरियोस्,” सोडारीले भनेका छन्।