काठमाडौं । नेपाली कांग्रेसले सरकारप्रति आफूहरूले देखाएको सदाशयतालाई कमजोरीका रूपमा बुझिएको आरोप लगाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
उनले सरकार संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताप्रति गम्भीर नदेखिएको टिप्पणी गरे। राज्यका विभिन्न निकायबाट संसद्को मर्यादा र स्थापित विधि–प्रक्रियाको पटक–पटक बेवास्ता भइरहेको उनको भनाइ छ।
आङ्देम्बेका अनुसार सरकारका गतिविधिबारे साझा धारणा बनाउन प्रतिपक्षी दलहरूको बैठक चाँडै बस्नेछ। बैठकपछि सरकारप्रतिको साझा दृष्टिकोण सार्वजनिक गरिने उनले बताए।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै उनले राम्रा कामको श्रेय पार्टीले लिने तर कमजोरीको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको आरोप लगाए।