काठमाडौं । नेपाली सेयर बजारमा एउटै दिन सेयर किन्ने र बेच्ने (इन्ट्राडे) कारोबार सुरु गर्ने बाटो खुल्ने संकेत देखिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यस्तो कारोबारलाई कानुनी दायरामा ल्याउन नियमावलीको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको छ।
बोर्डले ‘अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको हो। यसमा लगानीकर्ताले एउटै कारोबार दिनभित्र सेयर खरिद गरेर बिक्री गर्न वा बिक्री गरेर पुनः खरिद गरी कारोबार बन्द गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
तर, नेप्सेमा सूचीकृत सबै कम्पनीका सेयरमा यस्तो सुविधा उपलब्ध हुने छैन। कम्पनीको वित्तीय अवस्था, बजार पुँजीकरण, सेयरको तरलता, दैनिक कारोबार, मूल्यमा हुने उतारचढाव र संस्थागत सुशासनका आधारमा योग्य सेयर छनोट गरिनेछ।
ब्रोकरका लागि २० करोड चुक्ता पुँजी प्रस्ताव
मस्यौदाअनुसार इन्ट्राडे कारोबार सेवा दिन चाहने ब्रोकर कम्पनीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्नेछ। त्यसको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्ने प्रस्तावसमेत गरिएको छ।
यस्तो सेवा सञ्चालन गर्न ब्रोकरले सेबोनबाट छुट्टै अनुमति लिनुपर्नेछ। प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली, आन्तरिक नियन्त्रण, अनुपालन अधिकारी तथा विपद् व्यवस्थापन योजना पनि अनिवार्य गरिने प्रस्ताव छ।
लगानीकर्ताको जोखिम क्षमता परीक्षण हुने
इन्ट्राडे कारोबारमा सहभागी हुन चाहने लगानीकर्ताको आर्थिक अवस्था, आम्दानी, सेयर बजारको अनुभव र जोखिम वहन गर्ने क्षमता परीक्षण गरिनेछ।
ब्रोकरले आवश्यक विवरण तथा जोखिमसम्बन्धी सहमति लिएपछि मात्रै कारोबार सुविधा दिन पाउनेछन्। लगानीकर्ताले तोकिएको मार्जिन कायम गर्नुपर्नेछ। मार्जिन अपुग भएमा ब्रोकरले थप रकम माग्न, नयाँ कारोबार रोक्न वा खुला कारोबार बन्द गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, लगानीकर्ताको क्षमता र बजारको अवस्थाअनुसार कारोबारको अधिकतम सीमा तोक्न सकिनेछ।
बजारको वास्तविक समयमै निगरानी
प्रस्तावित व्यवस्थाले नेप्से र ब्रोकरलाई कारोबारको निरन्तर निगरानी गर्नुपर्ने जिम्मेवारी दिएको छ। अस्वाभाविक मूल्य परिवर्तन, शंकास्पद कारोबार तथा बजार दुरुपयोगका गतिविधि पहिचान गरी आवश्यक सूचना सेबोनलाई दिनुपर्नेछ।
लगानीकर्ताको रकम र सेयरलाई ब्रोकरको आफ्नै सम्पत्तिबाट अलग राख्नुपर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ। ग्राहकको स्वीकृतिबिना उनीहरूको सम्पत्ति प्रयोग गर्न नपाइने तथा कारोबार, शुल्क र मार्जिनको विवरण पारदर्शी रूपमा उपलब्ध गराउनुपर्नेछ।
इन्ट्राडे कारोबारले बजारमा तरलता बढाउने र सेयरको मूल्य निर्धारणलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। तर, मूल्यमा तीव्र उतारचढाव हुँदा लगानीकर्ताले छोटो समयमै ठूलो नोक्सानी बेहोर्न सक्ने जोखिम पनि उत्तिकै छ।
सेबोनले सार्वजनिक गरेको मस्यौदामाथि सरोकारवालाले २०८३ मंसिर ४ गतेभित्र सुझाव दिन सक्नेछन्। प्राप्त सुझावका आधारमा अन्तिम नियमावली तयार भएपछि मात्रै यसको कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ।