काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा पुनः गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा बन्द भएको छ।
बिहीबार ३.६२ अंकले बढेको बजारले शुक्रबार भने त्यो वृद्धि कायम राख्न सकेन। यद्यपि, कारोबार रकममा सामान्य सुधार देखिएको छ।
शुक्रबार कुल ३५२ कम्पनी तथा धितोपत्रका १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० रुपैयाँको कारोबार भएको छ।
कारोबारमा सहभागीमध्ये १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ८९ वटाको बढेको छ। बाँकी ९ वटाको मूल्यमा कुनै परिवर्तन भएन।
यस दिन डोल्टी पावरको सेयर मूल्य सर्वाधिक ५.१४ प्रतिशतले उकालो लाग्यो। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ४.२६ प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३ प्रतिशतले वृद्धि भयो।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। उक्त बैंकको २० करोड रुपैयाँको सेयर कारोबार हुँदा लक्ष्मी सनराइज बैंकको १४ करोड र रिलायन्स स्पिनिङ मिल्सको ११ करोड रुपैयाँ बराबरको कारोबार भयो।
त्यस्तै, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र एनआईसी एसिया बैंकको समान १० करोड रुपैयाँको सेयर किनबेच भएको छ।
समूहगत अवस्था हेर्दा बैंकिङ र म्युचुअल फण्डबाहेक अन्य सबै उपसूचक घटेका छन्। अधिकांश समूहमा देखिएको गिरावटले साताको अन्तिम दिन समग्र बजारलाई दबाबमा राखेको छ।