काठमाडौं । लगातारको उतारचढावबीच बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा बन्द भएको हो। अघिल्लो दिन बुधबार बजार ११.०५ अंकले घटेको थियो।
परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। बिहीबार ३४७ कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ रुपैयाँको कारोबार भयो। बुधबार ४ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबार भएका कम्पनीमध्ये १३८ वटाको सेयर मूल्य बढ्दा १३२ वटाको घट्यो। १० कम्पनीको मूल्य भने स्थिर रह्यो। कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट तहमा पुग्न सकेन।
बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य सबैभन्दा बढी ६ प्रतिशतले बढ्यो। बोटलर्स नेपाल (तराई) को मूल्य पनि ५.६३ प्रतिशतले उकालो लाग्यो। अर्कोतर्फ एभरेष्ट कलर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घट्यो।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रह्यो। बैंकको १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। पिपुल्स हाइड्रोपावरको १५ करोड, सेन्ट्रल फाइनान्सको १२ करोड तथा सोल्टी होटल र साहस ऊर्जाको समान ११ करोड रुपैयाँ बराबरको कारोबार भयो।
समूहगत परिसूचकमा भने मिश्रित अवस्था देखियो। बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ र ट्रेडिङ समूह बढ्दा बाँकी समूह दबाबमा रहे।
समग्रमा बजार हरियो भए पनि कारोबार रकममा आएको गिरावट र घट्ने कम्पनीको उल्लेख्य संख्याले लगानीकर्ताको उत्साह अझै कमजोर रहेको संकेत गरेको छ।