काठमाडौं । ऋण लिँदा ब्याजदर मात्रै हेरेर निर्णय नगर्न नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ। कर्जासँग जोडिने विभिन्न शुल्क, भुक्तानी अवधि र अन्य सर्तसमेत हिसाब गरेर वास्तविक लागत तुलना गर्नुपर्ने बैंकको सुझाव छ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले कात्तिक १७ गते सार्वजनिक गरेको वित्तीय सचेतना सामग्रीमा ऋण लिनुअघि त्यसको उद्देश्य स्पष्ट पार्न र आफ्नो आम्दानीले किस्ता तिर्न पुग्ने–नपुग्ने यकिन गर्न भनिएको छ।
बैंकले स्थिर र परिवर्तनशील ब्याजदरको भिन्नता बुझ्न, ढिला भुक्तानी गर्दा लाग्ने शुल्क तथा ब्याजबारे जानकारी लिन र धितो वा जमानीसम्बन्धी कानुनी दायित्व अध्ययन गरेर मात्रै सम्झौतामा हस्ताक्षर गर्न सुझाएको छ। पुरानो ऋण तिर्न वा पहिले भइसकेको खर्च धान्न नयाँ ऋण लिँदा ऋणको भार झन् बढ्न सक्ने चेतावनी पनि दिएको छ।
किस्ता तिर्न समस्या भए सम्बन्धित बैंकसँग कर्जाका सर्त परिमार्जन गर्ने विकल्पबारे छलफल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। ऋण समयमै नतिर्दा अतिरिक्त शुल्क लाग्नुका साथै भविष्यमा कर्जा पाउने क्षमताको मूल्याङ्कनमा समेत असर पर्न सक्छ।
राष्ट्र बैंकले औपचारिक वित्तीय संस्थाबाट मात्रै कर्जा लिन र सेवा सम्बन्धी गुनासो पहिले सम्बन्धित संस्थामै राख्न आग्रह गरेको छ। त्यहाँबाट समाधान नभए नियामक वा न्यायिक निकायमा जान सकिने जनाएको छ।