काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा तीनवटा नयाँ डिजिटल वित्तीय सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले डिजिटल कर्जा (फोन लोन), ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) क्रेडिट कार्ड र अनलाइन कर्जा आवेदन पोर्टल सुरु गरेको हो। बैंकको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी सेवाको शुभारम्भ गरे।
वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको बैंकले ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावललगायत बैंकिङ क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
सेवा शुभारम्भ गर्दै अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले उत्पादन र उद्यमशीलता विस्तारमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला व्यवसायमा कर्जा प्रवाह बढाउन उनले जोड दिए।
उनले बैंकलाई संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक कार्यक्षमता कायम राख्न आग्रह गर्दै डिजिटल रूपान्तरणसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने बताए। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक बैंकिङ प्रणालीमा जोड्नुपर्ने उनको भनाइ थियो।
हाल बैंकले देशभरका २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकका अनुसार करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवासँग जोडिएका छन्।
वार्षिकोत्सवकै अवसरमा बैंकले लामो समय सेवा गरेका कर्मचारी र उत्कृष्ट कार्यसम्पादन गर्ने शाखालाई सम्मान गरेको छ। २५ वर्ष सेवा गरेका तीन जना र २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको छ।
त्यस्तै, विभिन्न प्रादेशिक तथा भौगोलिक क्षेत्रका उत्कृष्ट १२ शाखालाई पुरस्कृत गरिएको छ। प्राकृतिक विपत्तिका बीच पनि सेवा निरन्तरता दिएका त्रिशूली र धुन्चे शाखालाई विशेष सम्मान गरिएको थियो। स्याफ्रुबेंसी एक्सटेन्सन काउन्टरमा बैंकको सम्पत्ति संरक्षणमा साहसिक भूमिका निर्वाह गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई पनि कदरपत्र प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले स्वागत गरेको कार्यक्रममा सञ्चालक समिति सदस्य बद्री खनालले अध्यक्षता गरेका थिए।
नौ दशक लामो बैंकिङ यात्रा पूरा गरेको नेपाल बैंकले नयाँ डिजिटल सुविधामार्फत ग्राहकलाई कर्जा तथा वित्तीय सेवा उपलब्ध गराउने प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने लक्ष्य अघि सारेको छ।