नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठले निजी क्षेत्रमा घटेको विश्वास पुनः स्थापित गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
दुई तिहाइ नजिकको बलियो सरकारबाट आर्थिक विकासको अपेक्षा अझै रहेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीलाई त्रासमुक्त वातावरण दिनुपर्नेमा जोड दिएका छन्। प्रस्तुत छ, यसै विषयमा केन्द्रित कुराकानीको सम्पादित अंश।
अहिले निजी क्षेत्रको अवस्था कस्तो छ?
व्यवसायीको मनोबल घटेको छ। सम्पत्तिमा भएको क्षति र अनुसन्धानका नाममा हुने धरपकडले लगानीकर्तामा त्रास बढाएको छ। दोषीलाई कारबाही गर्नुपर्छ, तर पहिले अनुसन्धान गरेर मात्र निर्णय लिनुपर्छ। व्यवसायीलाई कानुनी प्रक्रियाभित्र रहेर काम गर्ने विश्वास दिलाउन आवश्यक छ।
बलियो सरकार बनेपछि पनि लगानी किन बढ्न सकेको छैन?
स्थिर सरकार हुनु सकारात्मक हो। ब्याजदर घटेको छ र सरकारले पनि निजी क्षेत्रसँग संवाद गरिरहेको छ। तर अर्थतन्त्र अपेक्षाअनुसार चलायमान भएको छैन। सरकारले अघि सारेका सुधारको प्रभाव देखिन केही समय लाग्न सक्छ। कम्तीमा एक वर्षसम्म नतिजा हेरेर मूल्यांकन गर्नुपर्छ।
विदेशी लगानी आकर्षित गर्न सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो?
लगानीकर्ताले सबैभन्दा पहिले सुरक्षा, सरकारको नीति र व्यावसायिक वातावरण हेर्छन्। नेपालमा भएका विदेशी कम्पनीको अनुभवले पनि नयाँ लगानीकर्तालाई प्रभाव पार्छ। त्यसैले भएका उद्योगको सुरक्षा र लगानीकर्ताको विश्वास कायम राख्नु पहिलो प्राथमिकता हुनुपर्छ।
सरकार आफैँले उद्योग सञ्चालन गर्ने तयारी गरेको विषयलाई कसरी लिनुभएको छ?
सरकारले उद्योग सञ्चालन गर्न सक्छ, तर निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्छ। निजी क्षेत्रको अनुभव र लगानी उपयोग गर्न सके आर्थिक गतिविधि बढाउन सहयोग पुग्छ। सरकारले एक्लै अघि बढ्नुभन्दा साझेदारीको बाटो रोज्नु उपयुक्त हुन्छ।
पछिल्लो समय सरकारका शीर्ष नेतृत्वबीच मतभेदका खबर सार्वजनिक भइरहेका छन्। यसले कस्तो असर पार्न सक्छ?
नेतृत्वबीच विवाद बढे जनताले दिएको जनादेशको उद्देश्य कमजोर हुन सक्छ। अहिले मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक विकास चाहिएको छ। त्यसैले नेतृत्वबीच समझदारी कायम रहनु महत्त्वपूर्ण छ।
व्यवसाय सुरु गर्न चाहने युवालाई तपाईंको सुझाव के छ?
मेरा बुबाले सधैँ नियम र कानुनभित्र बसेर काम गर्न सिकाउनुहुन्थ्यो। व्यवसायमा दीर्घकालीन सफलता चाहनेले कानुनको पालना गर्नुपर्छ। इमानदारी, अनुशासन र निरन्तर प्रयास नै व्यवसाय विस्तारका आधार हुन्।