नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई २०४८ सालको कांग्रेसको राजनीतिक अनुभवबाट पाठ सिक्न आग्रह गरेका छन्। नेतृत्वबीचको विवादले पार्टी र देश दुवैलाई संकटमा पुर्याउन सक्ने उनको चेतावनी छ।
सरकारको छमहिने कार्यकाल, नयाँ राजनीतिक शक्तिको कार्यशैली र कांग्रेसभित्रको विवादबारे धारणा राख्दै रिजालले सरकार सफल होस् भन्ने चाहना व्यक्त गरे पनि संसदीय उत्तरदायित्व र विधिको शासनप्रति गम्भीर प्रश्न उठाएका छन्।
सरकारको छमहिने कार्यकाललाई कसरी हेर्नुभएको छ?
म यो सरकार सफल होस् भन्ने चाहन्छु। देशमा पटक–पटक राजनीतिक अस्थिरता देखिएको छ। अहिले जनताले नयाँ शक्तिलाई ठूलो समर्थन दिएका छन्। तर सरकारको काम गर्ने शैली, संसद्प्रतिको उत्तरदायित्व र संस्थागत प्रक्रियाको पालनामा अझै सुधार आवश्यक देख्छु।
रवि लामिछाने र बालेन शाहलाई तपाईंले किन २०४८ सालको कांग्रेस सम्झिन आग्रह गर्नुभयो?
त्यसबेला गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरू थिए। तर पार्टीभित्रको विवादले कांग्रेसले ठूलो राजनीतिक क्षति बेहोर्नुपर्यो र देशले पनि त्यसको असर भोग्यो। नयाँ शक्तिले त्यही बाटो दोहोर्याउनु हुँदैन। नेतृत्वबीचको मतभेदले जनताले दिएको अवसर खेर जान सक्छ।
पछिल्लो ३५ वर्षमा नेपालमा केही भएन भन्ने जनगुनासोलाई कसरी लिनुहुन्छ?
नेपालमा धेरै परिवर्तन भएका छन्। बैंकिङ, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन र पूर्वाधारमा भएको विकासलाई नकार्न मिल्दैन। तर सुशासन, रोजगारी र संस्थागत सुधारमा अपेक्षाअनुसार काम हुन सकेन। उपलब्धि स्वीकार्दै कमजोरी पनि सच्याउनुपर्छ।
विधिको शासनका विषयमा विपक्षी दलहरू पर्याप्त रूपमा बोलिरहेका छैनन् भन्ने आरोप छ नि?
संसद्मा विपक्षीले सरकारका कामको निगरानी गर्नुपर्छ। अहिले रास्वपाले ठूलो जनमत पाएको अवस्थामा विपक्षीलाई बोल्न अप्ठ्यारो महसुस भएको हुन सक्छ। तर विधि र संस्थामाथि प्रश्न उठ्दा राजनीतिक दलहरूले आफ्नो धारणा स्पष्ट राख्नुपर्छ।
कांग्रेसभित्रको विवाद र महाधिवेशनलाई कसरी हेरिरहनुभएको छ?
अदालतले गगन थापालाई आधिकारिकता दिएपछि मैले सदस्यता अद्यावधिक गरेर उहाँ नेतृत्वको कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई उभ्याएको छु। गगन थापालाई सभापतिका रूपमा अस्वीकार गर्नु गल्ती हुन्छ भन्ने लाग्छ। तर नेतृत्वले सबैलाई समेट्न पनि सक्नुपर्छ।
यसपटक पार्टीको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी छैन?
म प्रतिस्पर्धा गर्दिनँ। राजनीतिक रूपमा थकान पनि महसुस गरेको छु। अहिले पार्टीको नेतृत्व र त्यसको कार्यशैलीले कस्तो दिशा लिन्छ भन्ने महत्त्वपूर्ण छ। बीपी कोइरालाको विरासत बोकेर हिँड्नु भनेको नाम लिनु मात्रै होइन, त्यसअनुसार जिम्मेवारी निर्वाह गर्नु पनि हो।