काठमाडौं । विश्वविद्यालयमा नयाँ नेतृत्व आएको छ। अब विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रको चासो नियुक्तिमा मात्र सीमित छैन; विश्वविद्यालयको पढाइ, परीक्षा र प्रशासनमा कस्तो परिवर्तन आउँछ भन्ने प्रश्न मुख्य बनेको छ।
सरकारले त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेसँगै उच्च शिक्षा सुधारको जिम्मेवारी अनुभवी प्राध्यापक र विषयविज्ञको काँधमा पुगेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट तथा सिफारिस समितिले एकीकृत कार्यविधिअनुसार प्रक्रिया अघि बढाएको थियो।
नयाँ नेतृत्वसामु समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन, शैक्षिक सत्र नियमित बनाउने, अनुसन्धानलाई प्रोत्साहन गर्ने तथा विश्वविद्यालयको सम्पत्ति र स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने चुनौती छन्। बदलिँदो समयअनुसार प्रविधिमैत्री, सीपमूलक र रोजगारीसँग जोडिएको शिक्षा उपलब्ध गराउनु पनि उत्तिकै आवश्यक छ।
त्रिभुवन विश्वविद्यालयको नेतृत्व प्रा. डा. भोला थापाले सम्हालेका छन्। काठमाडौं विश्वविद्यालयमा करिब तीन दशक काम गरेका र त्यहाँ उपकुलपति भइसकेका थापासँग इन्जिनियरिङ शिक्षा तथा ऊर्जा अनुसन्धानको अनुभव छ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट इन्जिनियरिङ शिक्षण र प्रशासनिक अनुभव भएका प्राध्यापक हुन्। मध्यपश्चिम विश्वविद्यालयको नेतृत्वमा पुगेका डा. राजन सुवालसँग इन्जिनियरिङ शिक्षण, संकाय व्यवस्थापन र कलेज नेतृत्वको अनुभव छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल कृषि अर्थशास्त्र, अनुसन्धान र कृषि बजार प्रणालीका विज्ञ हुन्। उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान प्रकाशन छन्। राजर्षि जनक विश्वविद्यालयको नेतृत्व प्रा. डा. श्यामनारायण लाभले सम्हालेका छन्। प्राणीशास्त्र तथा जलीय कृषिमा विशेषज्ञता हासिल गरेका उनी चार दशकभन्दा लामो शैक्षिक र वैज्ञानिक अनुभव भएका प्राध्यापक हुन्।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. देवेन्द्र अधिकारी भौतिकशास्त्रका प्राध्यापक हुन्। उनले अध्यापनसँगै पाठ्यक्रम निर्माण र विश्वविद्यालयका विभिन्न शैक्षिक तथा प्रशासनिक निकायमा काम गरेका छन्। पूर्वाञ्चल विश्वविद्यालयको नेतृत्वमा पुगेका प्रा. डा. सुजनबाबु मरहट्ठा जनस्वास्थ्य विशेषज्ञ हुन्। महामारी विज्ञान, सङ्क्रामक रोग नियन्त्रण र अनुसन्धानका क्षेत्रमा उनको अनुभव छ।
नयाँ उपकुलपतिहरूको शैक्षिक पृष्ठभूमि र कार्यअनुभवले सुधारको सम्भावना देखाए पनि उपलब्धि नियुक्तिको विवरणबाट मात्र मापन हुँदैन। विश्वविद्यालयको वास्तविक परिवर्तन कक्षाकोठा, परीक्षा प्रणाली, अनुसन्धान, विद्यार्थीले पाउने सेवा र प्रशासनिक जवाफदेहितामा देखिनुपर्छ।
अब नेतृत्वले कति प्रभावकारी योजना बनाउँछ, स्रोतसाधन कसरी परिचालन गर्छ र सुधारका कामलाई कति छिटो परिणाममा बदल्छ भन्ने कुराले नै विश्वविद्यालयको भविष्य निर्धारण गर्नेछ।