काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनरुत्थान तथा जलवायु उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) सँग आग्रह गरेका छन्।
थाइल्यान्डको बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी रहेका अर्थमन्त्री वाग्लेले बिहीबार एडीबीका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गर्दै विपद्पछिको पुनर्निर्माण र नेपालको दीर्घकालीन आर्थिक प्राथमिकताका लागि आवश्यक स्रोत परिचालनमा सहयोग मागेका हुन्।
भेटका क्रममा वाग्लेले विनाशकारी बाढीपछि उद्धार कार्यमा सहयोग पुर्याउन आपत्कालीन अनुदान छिटो स्वीकृत गरेकोमा एडीबीप्रति आभार व्यक्त गरे।
जवाफमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु एडीबीको उच्च प्राथमिकतामा रहेको बताएका थिए। भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।