काठमाडौं । अयोध्यादेखि जनकपुरधामसम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटनसँगै अयोध्या र मिथिलाबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धले नयाँ आयाम पाएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यो रेल सेवाले नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक गन्तव्यलाई प्रत्यक्ष रूपमा जोडेको बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्दै कार्यक्रममा सहभागी नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई स्वागत गरे।
मुख्यमन्त्री आदित्यनाथले अयोध्या र जनकपुरबीचको सम्बन्धलाई राम र सीताको पवित्र विरासतसँग जोड्दै सरयू–कमला एक्सप्रेसले दुई क्षेत्रबीचको पुरानो सांस्कृतिक सम्बन्धलाई पुनर्जीवित गरेको उल्लेख गरे।
रेल सेवा सञ्चालनमा आएपछि नेपालका श्रद्धालुलाई अयोध्या पुगेर रामललाको दर्शन गर्न र भारतीय भक्तजनलाई जनकपुरधाम आएर माता जानकीको पूजाआराधना गर्न सहज हुने उनको भनाइ थियो।
उनका अनुसार यो सेवा केवल यातायातको माध्यम मात्र नभई दुई देशका धार्मिक आस्था, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण कडी बन्नेछ।