काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भएको उच्चस्तरीय भेटवार्तामा नेपालका लागि आर्थिक सहयोग, व्यापारिक पहुँच र धार्मिक पर्यटनसँग जोडिएका महत्त्वपूर्ण विषयमा सहमति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्राप्त विवरणअनुसार भारतले नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउने सहमति जनाएको छ। गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि नेपालले भारतसँग सहयोग मागेको थियो। यद्यपि, सहयोग रकम र उपलब्ध गराउने प्रक्रियाबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।
त्यस्तै, नेपालले भारतका गुजरातस्थित कान्डला र ओडिशास्थित पारादीप बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। यस सुविधाले तेस्रो मुलुकबाट सामान आयात गर्न तथा नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सहज हुने अपेक्षा गरिएको छ।
यसअघि नेपालले गुजरातको मुन्द्रा बन्दरगाह प्रयोगका लागि आग्रह गरेको भए पनि त्यसको सट्टा कान्डला र पारादीप बन्दरगाहको विकल्प अघि सारिएको विवरणमा उल्लेख छ।
दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालन गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
सरयू–कमला एक्सप्रेस नाम दिइएको उक्त रेल सेवाले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्नेछ। दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सेवा उद्घाटन गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमको दाबी छ।
रेल सेवा सञ्चालनपछि रामलला दर्शनका लागि अयोध्या जाने नेपाली श्रद्धालु र जानकी मन्दिर दर्शन गर्न जनकपुर आउने भारतीय पर्यटक तथा तीर्थयात्रीलाई आवतजावतमा सहजता मिल्ने विश्वास गरिएको छ।