काठमाडौं । चर्चित लोकदोहोरी कलाकारको जमघट, सांगीतिक चहलपहल र महाधिवेशनको उत्साहले महोत्तरीको बर्दिबास यतिबेला लोकसंगीतमय बनेको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती समारोहमा सहभागी हुन देशभरका कलाकार, संगीतकर्मी र प्रतिनिधि बर्दिबास पुगेका छन्।
प्रतिष्ठान स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा पहिलोपटक मधेश प्रदेशमा राष्ट्रिय महाधिवेशन आयोजना गरिएको हो। आयोजकका अनुसार ७७ वटै जिल्लाबाट एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। पर्यवेक्षक, कलाकार, शुभेच्छुक र दर्शकसमेत गरी पाँच हजारभन्दा बढीको उपस्थिति रहने अनुमान छ।
महाधिवेशनमा प्रतिष्ठानको २५ वर्षे यात्राको समीक्षा, लोकसंगीत क्षेत्रका समस्या र सम्भावनाबारे छलफल हुनेछ। आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गरिने प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण गौतमले जानकारी दिए। उनका अनुसार भारत, अमेरिका, दक्षिण कोरियालगायत एक दर्जनभन्दा बढी देशबाट पनि सहभागी आउने अपेक्षा गरिएको छ।
शान्तिश्री परियार, प्रकाश सपुत, प्रीति आले र पशुपति शर्मालगायत चर्चित कलाकारको उपस्थितिले बर्दिबासको सांगीतिक माहोल थप उत्साहपूर्ण बनेको छ। महाधिवेशनलाई व्यवस्थित बनाउन मञ्च सजावट, प्रचारप्रसार र अतिथि सत्कारका काम तीव्र पारिएका छन्।
सहआयोजक प्रतिष्ठानका मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्माले यो कार्यक्रम संस्थागत जमघटमा मात्र सीमित नरहेको बताए। उनका अनुसार महाधिवेशनले मधेशको कला, संस्कृति र पर्यटनलाई राष्ट्रिय स्तरमा चिनाउने अवसरसमेत प्रदान गर्नेछ।
स्थानीय व्यवस्थापनका लागि २० वटा उपसमिति गठन गरिएको प्रतिष्ठान महोत्तरीका सचिव रमेश खत्रीले बताए। देशभरबाट आउने प्रतिनिधि, कलाकार र दर्शकलाई सहज वातावरण उपलब्ध गराउन विभिन्न समितिलाई जिम्मेवारी बाँडिएको उनको भनाइ छ।
महाधिवेशनले बर्दिबासको होटल, पर्यटन र व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतम र बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कार्कीले कलाकार तथा दर्शकको आगमनले स्थानीय आर्थिक गतिविधि बढाउनुका साथै मधेशको सांस्कृतिक पहिचान प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।