काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित चलचित्र ‘म मदनकृष्ण’ को पहिलो चरणको छायाङ्कन सम्पन्न भएको छ। असोज २ गते काभ्रेको धुलिखेलबाट सुरु भएको छायाङ्कन दसैँपछि दोस्रो चरणमा अघि बढ्ने निर्देशक मिलन चाम्सले बताएका छन्।
चलचित्रको छायाङ्कन हेर्दा मदनकृष्ण भावुक बनेको र निर्माणको कामप्रति सन्तुष्ट रहेको निर्देशक चाम्सले जानकारी दिए। आफ्नो जीवनमा आधारित चलचित्र निर्माण भइरहँदा श्रेष्ठ स्वयं सेटमा उपस्थित हुनुले टोलीलाई काम गर्न सहज भएको उनको भनाइ छ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी, उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी र हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री देखिनेछन्। यम थापाले कथा तथा पटकथा लेखेको चलचित्रमा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका सुखदुःख र संघर्ष समेटिनेछन्।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, दिया जिसीलगायत कलाकारको पनि अभिनय रहनेछ। बालकलाकारका रूपमा जेविस र जेविन श्रेष्ठ देखिनेछन्। ‘म मदनकृष्ण’ चैत ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।