काठमाडौं । सर्जक केवल लामाको शब्द, संगीत र निर्माणमा तयार भएको गीत ‘पुरानो घाउ बल्झेछ’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा यसअघि नै चर्चा कमाएको गीतको भिडियो बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
‘द भ्वाइस अफ नेपाल’ सिजन १ बाट परिचित गायक राजु तामाङको स्वर रहेको गीतमा कुशल सिंहको एरेन्ज र आमोश तामाङको रिएरेन्ज छ। सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार सचिन सिंह र सुनिल मास्केले विदेशमा रहेर पनि नेपाली संगीतमा लामाले पुर्याएको योगदानको प्रशंसा गरे।
केवल लामाको कथा र अवधारणामा बनेको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन्। भिडियोमा बिना राउत, विजय लामा र रुकमान लिम्बुलगायत कलाकारले प्रेम, बिछोड र पुराना घाउका भावनालाई अभिनयमार्फत प्रस्तुत गरेका छन्।
दीपक गिरीको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडियो केवल लामाको आधिकारिक युट्युब च्यानल ‘Kewal Lama Music’ बाट सार्वजनिक गरिएको हो। गीतका शब्द, संगीत र कलाकारको भावपूर्ण अभिनयले दर्शकको ध्यान खिच्न थालेको छ।