काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकप्रिय लोकगायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्। बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएका हुन्।
यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष रहेका शर्मा मौलिक लोकभाका, व्यङ्ग्यात्मक गीत र जनजीवनसँग जोडिएका प्रस्तुतिका कारण लोकप्रिय छन्। लामो समयदेखि नेपाली लोकसंगीतमा सक्रिय उनले आफ्नो छुट्टै पहिचान बनाएका छन्।
महाधिवेशनबाट महासचिवमा शिव हमाल, वरिष्ठ उपाध्यक्षमा दीपक खड्का र प्रथम उपाध्यक्षमा सुवास केसी पनि निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले निर्विरोध निर्वाचित पदाधिकारीबारे जानकारी दिएका हुन्।
प्रतिष्ठानको केन्द्रीय समिति ३८ पदाधिकारी र ३७ सदस्य गरी ७५ सदस्यीय रहने व्यवस्था छ। महाधिवेशनबाट बर्दिबासका समाजसेवी तथा उद्योगी कृष्णप्रसाद गौतम सचिवमा सर्वसम्मत भएका छन्। उनी रोटरी क्लब अफ बर्दिबासका अध्यक्षसमेत रहिसकेका छन्।
महाधिवेशनको उद्घाटन रामआशीष यादवले गरेका थिए। उद्घाटनसत्रपछि सुरु भएको निर्वाचन प्रक्रियामा सातै प्रदेश, ७० जिल्ला तथा विदेशस्थित शाखासहित सयवटा समितिबाट आएका करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी छन्।
निर्वाचन समितिका अनुसार बाँकी निर्वाचन परिणाम शनिबार महाधिवेशनको समापन कार्यक्रममा सार्वजनिक गरिनेछ। नयाँ नेतृत्वले आगामी कार्यकालमा प्रतिष्ठानको सांगठनिक गतिविधि र नेपाली लोकसंगीतको प्रवर्द्धनलाई अघि बढाउने अपेक्षा गरिएको छ।