काठमाडौं । नेपालीको महान् चाड बडादशैंको रौनक बढेसँगै दशैंलक्षित गीत सार्वजनिक हुने क्रम पनि तीव्र बनेको छ। यसैबीच गीतकार डा. कृष्णहरि बरालको शब्द र संगीतकार महेश खड्काको संगीतमा तयार भएको ‘दशैं आयो’ गीत सार्वजनिक भएको छ।
गायिका अनु चौधरी र गायक हसन राईको स्वर रहेको गीतमा सुनिल राईको एरेन्ज छ। गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपल ठकुरीले अभिनय गरेका छन्।
नेपाली गीतसंगीतको प्रवर्द्धन, भिडियो निर्माण तथा वितरणमा सक्रिय लुङ्गटो क्रिएसनको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।
गायक हसन राईले यसअघि एक महिनाअघि संगीतकार महेश खड्कासँगकै सहकार्यमा ‘खोर्सानी खायो मैनाले’ गीत ल्याएका थिए। ‘बुट्टे झोली’, ‘मखमली चोली’, ‘आँखैमा लाउनु पर्दैन’ र ‘पैसा कि बैँस’ लगायत गीतबाट परिचित राईका अन्य सिर्जनाले पनि दर्शक–श्रोतामाझ लोकप्रियता पाएका छन्। सार्वजनिक भएसँगै ‘दशैं आयो’ ले पनि डिजिटल संगीत प्लेटफर्म र सामाजिक सञ्जालमा चर्चा पाउन थालेको गायक राईले बताएका छन्।