दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले सञ्चालनको पहिलो वर्षमै करिब ७५ हजार नेपालीलाई सेवा दिएको छ। राहदानी, कन्सुलर प्रमाणीकरणदेखि श्रमसम्बन्धी समस्या र उद्धारसम्मका कामका लागि नेपालीहरू दूतावास पुगेका हुन्।
महावाणिज्यदूतावासका अनुसार २०८२ भदौदेखि २०८३ साउनसम्म २२ हजार राहदानी आवेदन दर्ता भएका छन् भने २१ हजार राहदानी वितरण गरिएको छ। यस अवधिमा ३ हजार ८ सय एकतर्फी यात्रा अनुमतिपत्र, १३ हजार कन्सुलर प्रमाणीकरण र ५०० पावर अफ एटर्नीसम्बन्धी सेवा प्रदान गरिएको उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंले जानकारी दिए।
सेवाग्राहीको सहजताका लागि राहदानी घरमै पुर्याउने व्यवस्था पनि सुरु गरिएको छ। इमिरेट्स पोस्टमार्फत राहदानी सम्बन्धित व्यक्तिको ठेगानामै पठाउन थालिएको हो।
श्रम तथा भिसासम्बन्धी सेवाअन्तर्गत व्यक्तिगत र कम्पनी भिसा प्रमाणीकरणमा पाँच–पाँच सय तथा संस्थागत डिमान्ड प्रमाणीकरणमा एक हजार सेवा दिइएको छ। त्यस्तै, संस्थागत डिमान्ड परीक्षणतर्फ सात हजार, शव स्वदेश फिर्तीमा दुई सय, नेपालका लागि पर्यटक भिसामा तीन सय र श्रम स्वीकृति प्रमाणीकरणमा ३५० सेवासम्बन्धी काम भएको छ।
श्रमिकका समस्या समाधानमा पनि दूतावासले सक्रियता देखाएको छ। फोन, इमेल, सन्देश र प्रत्यक्ष भेटघाटमार्फत श्रम, जेल, ठगी, अस्पताल तथा राहदानीसँग सम्बन्धित करिब पाँच हजार गुनासोमा पहल गरिएको छ। श्रमिकको अवस्था बुझ्न १० पटक शिविरमा पुगिएको र दुईवटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको महावाणिज्यदूतावासले जनाएको छ।
इमेल, ह्वाट्सएप र मेसेन्जरमार्फत दैनिक औसत दुई सय जिज्ञासाको जवाफ दिने गरिएको छ। पहिलो वर्ष करिब ५० हजारले शुल्क लाग्ने सेवा लिएका थिए भने शुल्क नलाग्ने सेवाग्राहीको संख्या त्यसको करिब आधा रहेको महावाणिज्यदूत हरि ओडारीले बताए।
यूएईमा करिब सात लाख नेपाली कार्यरत रहेको अनुमान छ। त्यसमध्ये दुबई र उत्तरी राज्यमा मात्रै पाँच लाखभन्दा बढी नेपाली बसोबास गर्छन्। ठूलो नेपाली समुदायको उपस्थिति र सेवाको मागले महावाणिज्यदूतावासको कार्यभारसमेत बढाएको देखिन्छ।