अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोमा आयोजना हुने भएको छ। ‘समृद्धि : Connecting for Prosperity’ नारासहित होटल रेडिसनमा हुने सम्मेलनले प्रवासी नेपालीको लगानी, ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्ने विषयलाई प्राथमिकता दिनेछ।
क्षेत्रीय संयोजक भुवन खरेलले विश्वभरका गैरआवासीय नेपाली अभियन्तालाई सम्मेलनमा सहभागी हुन आह्वान गरेका छन्। सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई आमन्त्रण गरिएको छ। सरकार र प्रवासी नेपालीबीच प्रत्यक्ष संवाद गर्दै करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना, सामूहिक लगानी र लगानीमैत्री नीतिबारे छलफल गर्ने तयारी छ।
सम्मेलनमा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, वंशजको नागरिकतासम्बन्धी सरोकार तथा कृषि र जलविद्युत् क्षेत्रमा लगानी विस्तारका विषय पनि उठाइनेछन्।
गुल्मीको आँपचौरमा गैरआवासीय नेपालीको पहलमा सुरु भएको कफी खेतीलाई सामूहिक उद्यमशीलताको उदाहरणका रूपमा प्रस्तुत गरिनेछ। हाल एक हजार रोपनीमा फैलिएको खेतीलाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने लक्ष्यसहित कृषि क्षेत्रमा लगानीका थप अवसर खोजिनेछ।
विदेशमा जन्मिएका र हुर्किएका दोस्रो पुस्ताका नेपालीलाई भाषा, संस्कृति र पहिचानसँग जोड्ने तथा विदेशमा आर्जित ज्ञान र विज्ञता नेपालमा उपयोग गर्ने विषय पनि सम्मेलनको प्राथमिकतामा रहनेछन्। सम्मेलन व्यवस्थापनबाट बचत हुने रकम एनआरएनए क्यानडाको ‘नेपाली घर’ परियोजनामा लगानी गर्ने प्रस्तावसमेत अघि सारिएको छ।
खरेलले क्यानडावासी नेपाली, अमेरिकाज क्षेत्रका अभियन्ता र विश्वभरका गैरआवासीय नेपालीलाई सम्मेलन सफल बनाउन सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।