लन्डन । लामो समयदेखि आन्तरिक विवादका कारण निष्क्रियजस्तै बनेको नेपाली जनसम्पर्क समिति बेलायतले एक साताभित्रै अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको जिम्मेवारीपछि शेरबहादुर सुनारको संयोजनमा अधिवेशन प्रक्रिया अघि बढाइएको थियो।
अल्डरसटमा आयोजित अधिवेशनमा उद्घाटन सत्र, विधान संशोधन र राजनीतिक प्रतिवेदन पारित गरिएको थियो। विभिन्न पक्षसँग छलफल र समन्वयपछि हितकाजी गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जनाइएको छ।
नेपाली कांग्रेसको राजनीतिमा २०३६ सालदेखि सक्रिय सुनार समितिका संस्थापक सदस्यमध्ये एक हुन्। उनले सदस्यसचिव आरके त्रिपाठीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता सम्मिलित तयारी समिति बनाएर अधिवेशनको तयारी गरेका थिए। अग्रज नेताहरूको सल्लाहकार समिति गठन गरी छलफललाई तीव्रता दिइएको थियो।
समितिका नवीकरण गरिएका १ हजार ९५७ र नयाँ १६७ गरी कुल २ हजार १२४ सदस्यका आधारमा बेलायतबाट कांग्रेसको १५औँ महाधिवेशनका लागि १४ जना प्रतिनिधि चयन भएका छन्। ती प्रतिनिधिमार्फत पार्टीलाई लेबीबापत ५२ लाख ५७ हजार ८८५ रुपैयाँ पठाइएको जनाइएको छ।
सुनारले अधिवेशन सफल बनाउन सहयोग गर्ने नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। लामो समयको विवादपछि संवाद र सहमतिमार्फत नेतृत्व चयन हुनुलाई समितिको संगठनात्मक सक्रियता फर्काउने प्रयासका रूपमा हेरिएको छ।