अष्ट्रेलिया । अष्ट्रेलियामा व्यवसाय सञ्चालन गरिरहेका दुई नेपाली उद्यमीले भोटेकोशी बाढीपीडितको सहयोगका लागि १० हजार अष्ट्रेलियाली डलर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएका छन्।
क्यानबेरास्थित एभरेष्ट अटो रिपेयर एन्ड वर्कशप र सिड्नीस्थित समिट अटो रिपेयर एन्ड वर्कशपले आफ्ना ग्राहकबाट रकम संकलन गरी सहयोग गरेका हुन्। गाडी सर्भिसिङका लागि आएका करिब २०० ग्राहकबाट प्रतिव्यक्ति ५० अष्ट्रेलियाली डलरका दरले रकम जुटाइएको हो।
दुवै वर्कशपका सञ्चालक इन्जिनियर अनिश ढकाल र यज्ञ अधिकारीले मातृभूमिमा विपत्ति पर्दा सकेको सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरेका थिए।
इन्जिनियर ढकालका अनुसार अभियानमा ग्राहक, नेपाली समुदाय र शुभेच्छुकहरूले उत्साहजनक साथ दिएका छन्। विदेशमा रहेर पनि आफ्नो देशका विपद्पीडितलाई सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले अभियान अघि बढाइएको उनले बताए।
व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यो सहयोगले विदेशमा रहेका नेपाली समुदायको मातृभूमिप्रतिको माया र मानवीय भावनालाई उजागर गरेको छ।