काठमाडौं । पूर्वी नेपालको सीमावर्ती क्षेत्रलाई केन्द्र बनाएर मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार चीनको तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङको ओलाङचुङ गोला आसपास भूकम्पको केन्द्रविन्दु रहेको थियो। यसको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ।
भूकम्पपछि स्थानीय क्षेत्रमा सम्भावित क्षतिको अवस्थाबारे चासो बढेको छ। यद्यपि मानवीय तथा भौतिक क्षतिबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।
यसैबीच, अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले भूकम्पको केन्द्रविन्दु भारतको सिक्किमस्थित मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर टाढा रहेको जनाएको छ। उक्त संस्थाका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर थियो।