काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले प्यूठानको सरूमारानी गाउँपालिका–४ निवासी भोजबाबु सोमै मगरविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमीबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङको नक्कली प्रमाणपत्र पेस गरी सुरुमा रूम्जाटार माध्यमिक विद्यालय र पछि खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करार सेवामा सव–इन्जिनियरका रूपमा काम गरेको आयोगको आरोप छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार झुटो प्रमाणपत्रका आधारमा सार्वजनिक पद, ओहदा तथा आर्थिक लाभ र सुविधा लिएको देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
मगरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कैद र जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आरोपको अन्तिम निरूपण भने अदालतको फैसलाबाट हुनेछ।