काठमाडौं । जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले नागरिकलाई सचेत रहन आग्रह गरेको छ। महानगरले विशेषगरी प्लास्टिकजन्य फोहोर खुला ठाउँमा नबाल्न र प्रदूषण बढाउने गतिविधि नियन्त्रण गर्न अपिल गरेको हो।
महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार सवारीसाधनको धुवाँ, निर्माण कार्यबाट निस्कने धुलो, उद्योग कलकारखानाको उत्सर्जन तथा खुला रूपमा फोहोर जलाउँदा वायु प्रदूषण बढ्ने गरेको छ।
प्रदूषित हावाको प्रत्यक्ष असर बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोगीमा बढी पर्ने भएकाले सबै पक्षले सावधानी अपनाउनुपर्ने राईले बताएकी छन्।
महानगरले सवारीसाधनलाई प्रदूषण नियन्त्रण मापदण्डअनुसार सञ्चालन गर्न, नियमित मर्मतसम्भार गर्न तथा सडक र फुटपाथमा निर्माण सामग्री थुपारेर धुलो फैलिन नदिन आग्रह गरेको छ।
त्यस्तै, उद्योग, कलकारखाना तथा अस्पतालले महानगरको प्रदूषण नियन्त्रण मापदण्ड २०८१ अनुसार वायु गुणस्तर र धुवाँसम्बन्धी व्यवस्था पालना गर्नुपर्नेछ। उद्योगहरूमा वायु प्रदूषण नियन्त्रण गर्ने उपकरण प्रयोग गर्न पनि महानगरले जोड दिएको छ।
वायु प्रदूषण नियन्त्रण सरकारी निकायको मात्र जिम्मेवारी नभई नागरिक, व्यवसायी र उद्योग क्षेत्र सबैको साझा दायित्व भएकाले आ–आफ्नो ठाउँबाट सचेत हुन महानगरले आग्रह गरेको छ।