काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दिएको रिट तत्काल दर्ता हुन सकेन। सर्वोच्च अदालत प्रशासनले निवेदन अध्ययनका लागि राखेपछि दर्ता प्रक्रिया अघि बढ्न नसकेको हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि कार्की उक्त निर्णयविरुद्ध कानुनी उपचार खोज्दै बिहीबार सर्वोच्च पुगेका थिए।
कार्कीनिकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार सर्वोच्च प्रशासनले रिटको अध्ययन गर्न समय लाग्ने भन्दै तत्काल दर्ता नगरेको हो।
यदि शुक्रबार रिट दर्ता भए पनि तिहार बिदाका कारण त्यसको प्रारम्भिक सुनुवाइ भने बिदापछि मात्रै हुने देखिएको छ।