काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीले गोली चलाएर डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोप लागेका एक जनालाई पक्राउ गरेको छ।
बिहीबार राति भएको घटनामा पक्राउ पर्ने व्यक्ति सुजन तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानमा तामाङले सस्तो मूल्यमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई लुटपाट गर्ने गरेको खुलेको छ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा तामाङको दायाँ खुट्टामा लागेको एसएसपी घिमिरेले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङमाथि ठगी तथा लुटपाटसम्बन्धी घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।