काठमाडौं । विद्यालय शिक्षासम्बन्धी सरकारी तथ्याङ्क प्रणालीमै ठूलो अनियमितताको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन थालेको छ। एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इ–एमआईएस) मा करिब दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको प्रारम्भिक अध्ययनबाट खुलेपछि मन्त्रालयले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।
विद्यार्थीको विवरण दोहोर्याएर सरकारी अनुदान तथा सुविधामा अनियमितता भएको हुन सक्ने आशंकासहित बिहीबार मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ।
सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा भक्तबहादुर गोदार, विनोद न्यौपाने र निकिता दाहाल सदस्य छन्। विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।
मन्त्रालयका अनुसार दोहोरो विद्यार्थी विवरणका आधारमा राज्यकोषबाट वितरण हुने छात्रवृत्ति, दिवा खाजा, पोसाक, पाठ्यपुस्तक तथा अन्य सुविधामा दुरुपयोग भएको हुन सक्ने आशंका छ।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले विषयलाई गम्भीर रूपमा लिइएको बताउँदै छानबिनबाट दोषी देखिने व्यक्तिमाथि कारबाही गरिने स्पष्ट पारेका छन्।
समितिले प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको कारण प्राविधिक त्रुटि हो वा नियतवश गरिएको बदमासी भन्ने विषय पत्ता लगाउनेछ। साथै गलत विवरण पेस गरी सरकारी रकम दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिमाथि कारबाही गर्न सिफारिस गर्ने कार्यादेश पाएको छ।
मन्त्रालयले गलत तथा दोहोरो विवरण हटाएर इ–एमआईएस प्रणालीलाई पारदर्शी, सुरक्षित र वास्तविक विद्यार्थीको तथ्याङ्कमा आधारित बनाउने लक्ष्य राखेको जनाएको छ।