काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक अनुदानमा आएको गिरावटका कारण सरकारलाई सहुलियतपूर्ण ऋण लिनुपर्ने अवस्था आएको बताएका छन्।
रसुवा बाढीबाट भएको क्षति तथा राहत र उद्धारसम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले चालु आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिको अवस्था निकै कमजोर रहेको जानकारी दिए।
वाग्लेका अनुसार यस वर्ष ७ देखि ८ अर्ब रुपैयाँसम्म अनुदान जुटाउनसमेत कठिन देखिएको छ। उनले नेपालको दैनिक राजस्व संकलनसमेत विदेशी मुलुकबाट वर्षभरिमा प्राप्त हुने अनुदानभन्दा बढी हुन थालेको उल्लेख गर्दै सहुलियतपूर्ण ऋणको विकल्प नरहेको बताए।
सरकारले चालु आर्थिक वर्षको बजेटमा ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरेको थियो। तर बजेट सार्वजनिक भएको पाँच महिनापछि अर्थमन्त्रीले उक्त लक्ष्यको करिब १० प्रतिशत हाराहारीमा मात्रै अनुदान प्राप्त हुने आकलन गरेका छन्।
अनुदानको अपेक्षित स्रोत खुम्चिँदै जाँदा सरकारी वित्त व्यवस्थापनमा थप दबाब पर्ने देखिएको छ।