काठमाडौं । तिहारको धनतेरसकै दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। केही समयदेखि निरन्तर महँगिँदै गएको सुनको भाउ एकैदिन तोलामा ५ हजार ९०० रुपैयाँले घटेपछि गहना तथा सिक्का किन्ने तयारीमा रहेका उपभोक्तालाई राहत मिलेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला ११० रुपैयाँ घटेर ३ हजार ८१० रुपैयाँमा झरेको छ। बिहीबार यसको मूल्य ३ हजार ९२० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य घट्नु नेपाली बजारमा आएको गिरावटको प्रमुख कारण मानिएको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४२.५१ अमेरिकी डलर र चाँदी ५१.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
धनतेरसमा सुन, चाँदी तथा तामाका भाँडाकुँडा खरिद गर्नुलाई शुभ मान्ने परम्परा छ। यस्तो अवसरमा मूल्य घटेपछि बजारमा खरिदारी बढ्ने व्यवसायीहरूको अपेक्षा छ।