काठमाडौं । तिहारको सबैभन्दा बढी विद्युत् खपत हुने दिन मानिने लक्ष्मीपूजामा यस वर्ष नेपालमै उत्पादित बिजुलीले आन्तरिक माग धान्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आइतबार साँझ विद्युत्को उच्चतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ।
प्राधिकरणका अनुसार सोही समयमा देशको विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण छ। यस हिसाबले मागभन्दा करिब ८०० मेगावाट बढी विद्युत् उत्पादन हुने देखिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आन्तरिक उत्पादनबाटै तिहारको विद्युत् माग पूरा गर्न सकिने बताएका छन्। विद्युत् आपूर्तिमा अवरोध आउन नदिन उत्पादन, प्रसारण र वितरण प्रणालीलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन्।
तिहार र छठलाई लक्षित गर्दै प्राधिकरणले प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने, प्रसारण लाइन तथा वितरण प्रणालीको मर्मतसम्भार गर्ने र सम्भावित समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाएको छ।
यससँगै प्राधिकरणले उपभोक्तालाई गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र बिग्रिएको तार वा उपकरण आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन आग्रह गरेको छ।
नेपालको जलविद्युत् उत्पादन क्षमता बढ्दै जाँदा चाडपर्वको उच्च मागसमेत स्वदेशी उत्पादनबाट धान्न सकिने अवस्था ऊर्जा क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा देखिएको छ।