काठमाडौं । तिहारको मिठाससँगै बजारमा बिक्री हुने मिठाईको गुणस्तर र स्वच्छतामाथि पनि प्रश्न उठ्न थालेको छ। चाडपर्वमा माग बढेको मौका छोपेर अखाद्य वस्तु मिसाउने तथा म्याद र गुणस्तरमा लापरबाही हुने जोखिमलाई ध्यान दिँदै सरकारले बजार अनुगमन तीव्र बनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार देशभर ४९७ मिठाई पसलको अनुगमन गरिएको छ। अनुगमनका क्रममा ४३३ पसललाई आवश्यक मापदण्ड पालना गर्न निर्देशन तथा चेतावनी दिइएको छ भने २२२ पसलले तोकिएको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरेका छन्।
नयाँ व्यवस्थाअनुसार मिठाई पसलले बिक्रीमा राखिएका परिकारको नाम, प्रयोग भएका सामग्री, घिउ वा तेलको प्रकार, उपभोग गर्न मिल्ने अवधि र मूल्य स्पष्ट देखिने गरी राख्नुपर्ने हुन्छ।
विभागले मिठाई उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, तेल तथा घिउको गुणस्तर र भान्साको सरसफाइमा समेत निगरानी बढाएको छ। अखाद्य रङ, बिग्रिएका सामग्री तथा स्वास्थ्यलाई असर गर्ने पदार्थ प्रयोग गरेको पाइए कानुनी कारबाही गरिने जनाएको छ।
विशेषगरी खुला रूपमा बिक्री हुने मिठाई खरिद गर्दा उपभोक्ताले त्यसको ताजापन, सरसफाइ र मूल्यबारे जानकारी लिन आवश्यक छ। आकर्षक देखिने मिठाई गुणस्तरीय नै हुन्छ भन्ने निश्चित नहुने भएकाले खरिदमा सावधानी अपनाउनुपर्ने देखिन्छ।
तिहार खुसी र मिठास बाँड्ने पर्व हो। तर अस्वस्थकर खाद्य सामग्रीका कारण कसैको स्वास्थ्यमा समस्या नआओस् भन्नका लागि व्यवसायीको जिम्मेवारीसँगै सरकारी अनुगमन र उपभोक्ताको सचेतना पनि उत्तिकै आवश्यक छ।