काठमाडौं । तिहारको रमझमसँगै यसपटक मौसमले पनि केही क्षेत्रमा प्रभाव पार्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
महाशाखाका अनुसार सोमबार राति हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागको मौसम सामान्यतया सफा रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान छ।
मंगलबार पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहे पनि तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
बुधबार भाइटीकाको दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना छ। ती प्रदेशका केही हिमाली र एक–दुई पहाडी स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि छिटपुट वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
बुधबार रातिसम्म पनि हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने देखिएको छ। तराई, उपत्यका तथा खोँचहरूमा भने बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।