काठमाडौं । आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न भूभागमा मौसमले फरक–फरक रूप देखाउने भएको छ । तराईमा हुस्सु लाग्ने, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ ।
नेपाल मौसम विज्ञान विभागकी मौसमविद् अनिषा निरौलाका अनुसार तराईका केही स्थानमा बिहीबारसम्म हुस्सु लाग्न सक्नेछ । तर, तराई क्षेत्रमा तत्काल वर्षाको सम्भावना भने नरहेको उनले बताएकी छन् ।
पहाडी क्षेत्रमा भने मौसम बदलीसँगै वर्षा, चट्याङ र असिनाको सम्भावना छ । आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान छ ।
शनिबार तथा बुधबार र बिहीबार पनि पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा बिहीबारसम्म छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् निरौलाले जानकारी दिएकी छन् ।
हिमाली क्षेत्रमा पनि मौसमले साथ नदिने देखिएको छ । आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्ने पूर्वानुमान छ ।
त्यसैगरी शनिबार तथा बुधबार र बिहीबार पनि ती प्रदेशका हिमाली क्षेत्रमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्नेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भेगमा भने बिहीबारसम्म छिटपुट हल्का हिमपात वा वर्षा हुने सम्भावना छ ।
मौसममा हुने यस्तो परिवर्तनलाई ध्यानमा राख्दै पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।