मलंगवा । छठ पर्वको उल्लासमा रमाउनुपर्ने सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुर अहिले गहिरो शोकमा डुबेको छ। मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानीमा बिहीबार भएको विद्युतीय हाइस दुर्घटनामा एउटै गाउँका १३ जनाको ज्यान गएपछि बस्ती नै स्तब्ध बनेको हो।
पर्वको तयारीमा जुट्नुपर्ने घरहरूमा अहिले रुवाबासी छ। छिमेकी, आफन्त र परिवारका सदस्य गुमाएका स्थानीयका घरमा बिहीबारदेखि चुल्होसमेत बलेको छैन। वर्षौंदेखि सँगै छठ मनाउँदै आएका परिवार नै दुर्घटनाको सिकार भएपछि गाउँको उत्सव शोकमा बदलिएको छ।
दुर्घटनाले सबैभन्दा ठूलो बज्रपात अवधेश यादवको परिवारमा पारेको छ। एकै परिवारका ६ सदस्य गुमाउँदा उनकी आमा निर्मलादेवी यादव अचेत अवस्थामा पुगेकी छन्। अवधेशकी श्रीमती पुनम यादव, तीन छोरी अनु, दीक्षा र दीपिका तथा उनका दुई भाइ विकेश र सुदेशको दुर्घटनामा मृत्यु भएको हो।
आठ महिनाकी गर्भवती पुनम र इन्जिनियरिङ अध्ययनरत विकेशसमेत गुमेपछि परिवारमा असह्य पीडा थपिएको छ। परिवारका डेढ वर्षीय छोरा भने दुर्घटनाबाट जोगिएका छन्। उनको काठमाडौंमा उपचार भइरहेको छ। अवधेश केही दिनपछि घर फर्किने योजनामा रहेकाले दुर्घटनामा परेनन्।
त्यस्तै, प्रमोद रायले छोरा गुडु यादव र बुहारी गायत्री यादव गुमाएका छन्। उनीहरूसँगै रहेका पाँच वर्षीय सक्षम र तीन वर्षीय सुजन भने बाँचेका छन्। सक्षमका अनुसार दुर्घटनाका बेला उनका बुवाले दुवै छोरालाई गाडीबाट बाहिर फालेका कारण उनीहरू जोगिएका हुन्। सक्षम घर फर्किएका छन् भने सुजनको उपचार भइरहेको छ।
निरसु रायको परिवारमा पनि उस्तै पीडा छ। काठमाडौंमा तरकारी व्यापार गरेर परिवार चलाउँदै आएका उनका छोरा राकेश राय र १४ वर्षीय नाति रोहन रायको मृत्यु भएको छ। त्यस्तै, २५ वर्षीय रामदुलार राय र अमिरी रायका छोरा राकेश रायले पनि दुर्घटनामा ज्यान गुमाएका छन्। रामदुलारसँगै यात्रा गरेका उनका दाइ देवेन्द्र भने बाँच्न सफल भएका छन्।
काठमाडौंस्थित जडीबुटीबाट घर फर्किरहेका यात्रु बोकेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस भीमफेदीको चिसापानीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा सवार यात्रुका साथै कविलासी नगरपालिका–८ का चालक रविशंकर मण्डलको पनि मृत्यु भएको थियो।
परिवारका अभिभावक गुमाएका बालबालिकादेखि घरका धेरै सदस्य गुमाएका परिवारसम्मको पीडाले सुन्दरपुरको वातावरण स्तब्ध बनेको छ। छठको खुसी बाँड्न घर फर्किएकाहरूको यात्रा नै अन्तिम बनेपछि गाउँलेहरू शोकमा डुबेका छन्।
सहमतिपछि आफन्तले बुझे शव
दुर्घटनापछि उचित राहत र क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडानमा रहेका पीडित परिवार र सरकारबीच सहमति जुटेको छ। दुर्घटना छानबिन समितिसँगको छलफलपछि शुक्रबार आफन्तले शव बुझेका हुन्।
चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूको शुक्रबार राति नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार एकै स्थानमा अन्तिम संस्कार गरिनेछ।
सहमतिअनुसार दुर्घटनाका दोषीलाई कानुनी कारबाही गर्ने, अभिभावक गुमाएका बालबालिकाको शिक्षा, पालनपोषण र संरक्षणको जिम्मेवारी राज्यले लिने तथा गाडीधनी र बिमा कम्पनीबाट प्राप्त हुने क्षतिपूर्तिमा थप रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ।
लामो समयदेखि सँगै पर्व मनाउँदै आएका परिवारका सदस्यलाई एकैपटक गुमाएको सुन्दरपुरले यस वर्ष छठको उज्यालोभन्दा गहिरो पीडा भोग्नुपरेको छ।